Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेलाई मन्त्रालयले दोस्रो पटक सोध्यो स्पष्टीकरण



विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सामाजिक विकास मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले दोस्रो पटक वाग्लेलाई स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले यसअघि वैशाख १७ गते पनि वाग्लेलाई पत्र लेख्दै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न भनेको थियो ।

मन्त्रालयले त्यसबेला विराटनगरको तीनपैनीमा रहेको प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गरिदिन आग्रह समेत गरेको थियो ।

तर, तोकिएको समयभित्र वाग्लेले स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएकाले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न अर्को पत्र पठाएको हो ।

बिहीबार मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले हस्ताक्षर गर्दै वाग्लेलाई दोस्रोपटक स्पष्टीकरण सोधेका हुन् । ‘फ्लेक्स ब्यानरजस्तो महत्त्वपूर्ण कुरामा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगितासम्बद्ध पत्राचार, चेक, प्रमाणपत्र लगायतमा कोशी प्रदेश लेखिने कार्यले मात्रै नियतवश भएको कार्यको बचाउ हुन सक्दैन’ उक्त पत्रमा भनिएको छ ।

यस्तै उक्त विषयमा मन्त्रीलाई पनि यथासमयमा जानकारी नदिएको पत्रमा उल्लेख छ । कोशी प्रदेश लेखिएको मुख्य ब्यानरको बीच भागमा कोशी प्रदेश लेखिएको अर्को व्यानर तयार गरी फोटो लिने कार्य भएकाले बचाउको लागि मात्र प्रमाण सिर्जना गरिएको कुरा प्रस्ट भएको पत्रमा उल्लेख छ ।

‘तपाईँलाई यसै विषयका सम्बन्धमा मिति २०८०/०१/१७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा (४) बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित ३ (तीन) दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८०/०१/२७ गतेको निर्णय (माननीय मन्त्रीस्तरीय) अनुसार अनुरोध छ,’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार