विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालयले गत १७ गते गोप्य सूचना जारी गरि ७ दिनभित्र चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण सोधेको हो ।
वाग्लेविरुद्ध गत बैशाख १४ गतेदेखि १६ सम्म झापाको दमकमा सम्पन्न प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रयोग भएका फ्लेक्स ब्यानर लगायतका खेल सामाग्रीमा प्रदेश सरकार, कोशी प्रदेशको नाम उल्लेख नगरी प्रतियोगिता सञ्चालन गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
‘प्रदेश खेलकुद ऐन २०७६ को दफा १२ को उपदफा १(ख)बमोजिम प्रदेश खेलकुद विकास बोर्डबाट भएका निर्णय कार्यान्वयन गर्ने गराउने र खण्ड (च) बमोजिम बोर्डको कार्य सञ्चालनमा अनुशासन र पारदर्शिता कायम गर्ने कानुनी कर्तव्य विपरीत प्रदेश सरकार र प्रदेशको नाम उल्लेख नगरी प्रतियोगिता सञ्चालन गर्नुको चित्तबुझ्दो स्पष्टीकरण ७ दिनभित्र पेश गर्नुहुन माननीय मन्त्रीस्तरको मिति २०८०/०१/१७ को निर्णयअनुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ ।
बैंक खाता पनि बन्द
मन्त्रालयले प्रभु बैंकको तिनपैनी शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का राख्न अनुरोध गरेको छ । मन्त्रालयले गत बैशाख १८ गते बैंकलाई पत्र लेख्दै खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गरिदिन भनेको छ ।