बुधबार विराटनगरको परिक्रमा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरु। तस्बिर : इकागजबाट साभार
विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई कोशी प्रदेशको राजधानी विराटनगर भव्य स्वागत सम्मान गरिएको छ । बुधबार उनीहरुलाई स्वागत सम्मान गर्दै विराटनगर महानगरको परिक्रमा गराइएको हो।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्दै महानगर परिक्रमा गराइएको हो ।
केही दिन अघि सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा छनोट भएको खुशीयालीमा उनीहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
विराटनगरको कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुदै बरगाछीसम्म खेलाडीहरुलाई परिक्रमा गराइएको छ ।
र्यालीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, करण केसी, ललित राजवंशी, दिपेश कँडेल, दीपेन्द्रसिंह ऐरी र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितको टिमले ट्रफी बोकेर नगर परिक्रमा गरेका थिए ।
त्यसैगरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोगसमेत गरिएको छ ।