Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरबाट ९ तोला सुनसहित दुई जना पक्राउ



प्रहरीले बरामद गरेको सुनका गहना

विराटनगर : विराटनगरबाट ९ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्रउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि चेकजाँच गर्दा उनीहरुको साथबाट ९ तोला ४३ लाल सुन फेला पारेको हो ।

गहनासहित इटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई विराटनगर–९ ठाकुरबारी रोडबाट पक्राउ गरेको हो । बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेका उनीहरूलाई सोमबार राति ९ बजेतिर पक्राउ गरिएको दाहालले बताए ।

दाहालका अनुसार उनीहरु ठाकुरबारी रोडको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि प्रहरीले उनीहरू सवार कार नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

नियन्त्रणमा लिइएको उक्त सुनको मुल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ९८ हजार ३ सय रूपैयाँ पनि बरामद गरेको छ ।

प्रहरीले कार, सुनका गहना र नगदसहित दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार