Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा आफ्नै शरीरमा आगो लगाएर एक वृद्धको मृत्यु



विराटनगर : विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार ग्यालेनमा पेट्रोल ल्याएर आफ्नै शरीरमा खन्याएर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो ।

आगो लगाएर घाइते भएका लेटाङ ७ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालको उपचारका क्रममा विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनले विराटनगर महानगरपालिका–४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालका अनुसार आगो लागेर नेपालको शरीरका अधिकांश भाग जलेको थियोे । आफ्नै शरीरमा आगो लगाएपछि स्थानीयले उनलाई उद्धार गरि अस्पताल पुर्‍याएका थिए ।

लेनदेन विवादका कारण आफ्नै शरीरमा आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । वृद्धले चिनजानका मान्छेलाई पैसा सापटी दिएको खुलेको प्रहरीले जनाएको छ ।

शव भने पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्यको जिम्मा लगाएको छ। विराटनगरको कोशी अस्पतालमा शवको पोस्टमार्टम गरिएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार