धरान । आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट तयारी गर्न कार्यपालिका बैठक र नगरसभा बस्न नसके पब्लिक स्कुलमा आम जनता भेला भएर अनुमोदन गर्ने पनि बताएका छन् । धरान उपमहानगरपालिका कार्यपालिका बैठक वडाध्यक्ष, कार्यपालिका सदस्यहरू अनुपस्थित भएकाले हिजो बिहीबार पनि बस्न नसकेपछि मेयर हर्क साम्पाङले चौथो पटक पनि बैठक बस्न नसके सम्पूर्ण कार्यहरू तोक आदेशको निर्णयमा चलाउने बताएका छन् ।
उनले गएको चैत १ मा बिचैमा स्थगित बैठक तेश्रो पटक बिहीबार बोलाइएको थियो । बैठकमा मेयर साम्पाङ, उपमेयर आईन्द्र विक्रम बेघा र धरान ४ का वडाध्यक्ष धन बहादुर राई मात्र उपस्थित भएकोले गणपूरक सङ्ख्या नपुगेको कारण फेरी पनि स्थगित भएको हो । स्थगित भएपछि मेयर साम्पाङले भने ‘तेस्रो पटक पनि बैठक बहिष्कार भयो, अब चौथो पटक पनि बैठक अवरुद्ध भइरहे उपमहानगरपालिकाको काम नरोकिने सम्पूर्ण कार्यहरू तोक आदेशमा चल्ने छ ।’ कार्यपालिका सदस्यहरू बैठकमा उपस्थित नभए दुई वटा विधि प्रयोग गर्ने उनले बताए ।
उनले भने ‘कि वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरू बैठकमा उपस्थित हुनुपर्यो, कि सामूहिक रूपमा राजीनामा दिनुपर्यो ।’ राजीनामा पछि धरान उपनिर्वाचनमा जानुपर्छ । लोकतन्त्रमा जनताले चुनेर पठाएका प्रतिनिधिहरूले जनताको आदेशलाई अपमान गरेर जाने अनुमति नभएको उनको भनाई छ । उनले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट तयारी गर्न कार्यपालिका बैठक र नगरसभा बस्न नसके पब्लिक स्कुलमा आम जनता भेला भएर अनुमोदन गर्ने बताए ।
उपमेयर आईन्द्र विक्रम बेघाले कार्यपालिका बैठकमा उपस्थित हुन सम्पूर्ण कार्यपालिका सदस्यलाई आग्रह गर्दै आफूले आवश्यक समन्वय मेयर र वडा अध्यक्षहरूलाई गरेको बताए । तर वडा अध्यक्षहरू पटक पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेको बताए । उनले भने ‘कार्यपालिका बैठक बसेर आवश्यक समन्वयको निष्कर्ष छलफलबाटै निकाल्नु उचित हुन्छ, अन्यथा भागेर समस्याको समाधान हुँदैन ।¨ कार्यपालिका सदस्य दिनेश गजमेरलाई आफूमाथि लगाएको आरोप पुष्टि सहित आउन आग्रह गरेका छन् ।