काठमाडौं : सरकारले नेपालमै बनेका सवारी साधन दर्ता गर्न कार्यविधि संशोधन गरेको छ।
यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्थापन कार्यविधि, २०६० लाई संशोधन गर्दै नेपालमा बनेका सवारी साधनलाई दर्ता दिने बाटो खुल्ला गरेको हो।
यो व्यवस्थासँगै अब विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका थिए।
नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका थिए।