Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका वडाहरूबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने



विराटनगर : विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा हुने भिड घटाउन वडा तहबाटै विवरण संकलन सुरु गरिएको हो ।

विराटनगरमा बैशाख १५ गतेदेखि परिचयपत्र संकलन सुरु हुने बताइएको छ ।

वडाबाटै परिचयपत्र विवरण सकलन गर्नको लागि महानगरले अभिमुखीकरण कार्यक्रम समेत गरेको छ ।राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न महानगरले आवश्यक जनशक्ति तयार गरि तालिम दिइसकेको छ ।

राष्ट्रिय परिचपत्रमा जनसांख्यिक र जैविक विवरण समावेश हुन्छ । जनसांख्यिक विवरणमा नाम थर, जन्म मिति, लिंग, राष्ट्रियता, स्थायी अस्थायी ठेगाना, बुबा आमा, पति पत्नी, बाजे बज्यैको नाम थर, नागरिकता सम्बन्धी सूचना हुन्छन् ।

यसैगरी जैविक विवरणमा दश औलाको छाप, आँखाको रङ, अनुहारको फोटोलगायत विवरण पर्छन् । हरेक व्यक्तिलाई १० अङ्कको छुट्टाछुट्टै परिचय पत्र दिइन्छ ।

विवरण दिन जाँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको भए शैक्षिक योग्यताका प्रमाण पत्र, राहदानी वा यस्तै खालका मिति खुल्ने आधिकारिक प्रमाण चाहिन्छ ।

नागरिकताको प्रमाणपत्रमा उल्लेखितभन्दा फरक स्थायी ठेगाना भएमा बसाइसराइ दर्ताको प्रमाणपत्र सक्कल प्रति लैजानुपर्छ । राज्य पुनःसंरचनाका कारण ठेगाना परिवर्तन भएको हकमा त्यस्तो कागजात आवश्यक पर्दैन ।

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्रको सक्कल प्रति आवश्यक पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार