विराटनगर : नेपाली कांग्रेसका नेता द्वय डा. मिनेन्द्र रिजाल र सुजता कोइरालासहित केही केन्द्रीय स्तरका नेताहरुविरुद्ध दोहोरो नागरिकताको उजुरी परेको छ । उनीहरुको नेपाली नागरिकता छानविन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो ।
डा. रिजाल र कोइरालासहित उच्च पदस्त १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्ड समेत रहेको भन्दै सोमबार गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो । उनीहरुविरुद्ध सिन्धुलीका युुवराज पौडेल सफलले उजुरी दायर गरेका हुन् ।
उक्त उजुरीमा रिजाल र कोइरालासहित राजेन्द्र महत्तो, सरिता गिरी, अनुराधा कोईराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कडेल, डा स्वर्णिम वाग्ले र दिलेन्द्र प्रसाद बडुको दोहोरो नागरिकता रहेकोले छानविन गरि कार्वाही गर्न माग गरिएको छ ।
सक्कल नागरिकता झिकाई उनीहरु सँग अन्य देशको समेत पीआर तथा ग्रिनकार्ड छ, सो उपर छानविन गर्न उच्च स्तरीय नागरिकता आयोग गठन गरी आवश्यक कार्वाही गर्न माग गरिएको छ ।
उजुरी कर्ता युवराजले रवि लामिछाने विरुद्ध अदालतमा उजुरी गरेर रबिको उप प्रधानमन्त्री तथा गृह मन्त्री र संसद पद नै खारेजी गराएका थिए । मिनेन्द्र रिजाल तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री थिए । सुजता कोइराला भने गएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् ।