Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईको बेरुजु ४ करोड २७ लाख ४ हजार रुपैयाँ



विराटनगर : अनियमितता बढ्दै जाँदा मोरङको रतुवामाई नगरपालिकामा बेरुजु रकममा बर्सेनि वृद्धि हुँदै गएको छ । गएको आर्थिक वर्ष २०७८/०७९ मा रतुवामाईमा ४ करोड २७ लाख ४ हजार ६६९ रुपैयाँ बेरुजु रकम पुगेको हो ।

पालिकाको गएको आर्थिक वर्ष २०७८/०७९ मा महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा याे बेरुजु रकम निस्किएको हो । रतुवामाईको अन्तिम लेखापरीक्षण विवरण महालेखापरीक्षकको कार्यालयले ६० औं प्रतिवेदन मार्फत सार्वजनिक गरे अनुसार याे विवरण बाहिरिएको हो ।

नगरपालिकाले ऐन विपरीत करारमा कर्मचारी नियुक्ति गरेको भन्दै मलेपले ५६ लाख ९९ हजार ९१० रुपैयाँ बेरुजु देखाएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर पालिकाले कुल ११७ जना कर्मचारी हरु करारमा राखि रु.१,१८,९५,८४७ तलब खर्च लेखेको छ । त्यसैगरी सोही ऐन २०७४ को दफा ८३ (८) वमोजिम पालिकाले नगर प्रहरी, सवारीचालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्टीसियन, चौकिदार, मालि, बगैंचे लगायतका पदमा मात्र करारवाट सेवा लिन सकिने व्यवस्था गरेको छ। स्थानीय तहले माथि उल्लेखित पद वाहेक सिभिल ईन्जिनियर कम्प्यूटर अपरेटर अनमि लगायत विभिन्न पदमा २६ करार नियुक्ति गरी रु ५६,९९,९१० भुक्तानी गरेको कार्य ऐन बिपरित देखिएकोले नियम सम्मत नदेखिएको’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नगरपालिकाले शिर्षक फरक पारेर १,३८,२७० रुपैयाँ भुक्तानी गरेको पाइएको छ । पालिकाले दैनिक ज्यालादार तथा करार कर्मचारीको पारीश्रमिक रु १,३८,२७० पारीश्रमिक कर्मचारीबाट खर्च लेखेको छ। नियमावली बमोजिम दैनिक ज्यालादार तथा करार कर्मचारीको पारीश्रमिक करार सेवा शुल्कबाट खर्च लेख्नुपर्नेमा पारीश्रमिक कर्मचारीबाट खर्च लेखेकोले अनियमित देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ अनुसार सार्वजनिक निकायले एक लाख रुपैया भन्दा बढिको कुनै पनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नुपर्ने, दफा ८(२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा-टुक्रा पारी खरिद गर्नु नहुने, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(१) मा बीस लाख रुपैंया भन्दा बढि लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्नु पर्दा खुला बोलपत्रको माध्यमद्वारा खरिद गर्न सकिने व्यवस्था छ भए पनि रतुवामाईले उल्लेखित व्यवस्थाको पालना नगरी सोझै खरिद गरी निम्न अनुसार रु २३६७९९३ खर्च गरेको रकम अनियमित देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार