विराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली काँग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे ।
‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,” उनले थपे, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिक लगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन ।’
नेता कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलङ्का र पाकिस्तान नहुने दाबी गरे । श्रीलङ्का र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए ।
“तपाईँहरू आजैबाट नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, ‘श्रीलङ्का र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन ।तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।’