Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटनाः गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो



खोटाङ : आइतबार खोटाङमा बिरामी बोकेको बोलेरो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् ।

महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् ।

दुर्घटनाका गम्भीर घाइते तीनै जनालाई हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष टङ्कराम राईले जानकारी दिए ।

बिरामी पदममायाँलाई उपचारका लागि सोलुखुम्बुतर्फ लैजाने क्रममा अनियन्त्रित भएको बोलेरो सडकबाट करिब ३० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा नगेन्द्र राई, प्रेमबहादुर सुवेदी र ऐसेलुखर्क गाउँपालिका–१ राखाका जयकुमार राई सामान्य घाइते भएका छन् । उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामीलाई स्ट्रेचरमा राखेर राखालीपुलतर्फ लैजाँदै गर्दा मयुर आधारभूत विद्यालय नजिकै खाली बोलेरो भेटेपछि उनीहरू सोही बोलेरो चढेर अगाडि जाने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारमा काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले जानकारी दिए । दुर्घटनालगत्तै चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार