विराटनगर : कोशी प्रदेश नामकरण गर्न मतदान गरेको भन्दै खोटाङका सांसद पाँचकर्ण राई (पिके) विरुद्ध प्रदर्शनमा उत्रिएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा एमालेका तर्फबाट खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध शनिबार जिल्लाको सदरमुकाम दिक्तेलमा पहिचानवादी समूहका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन गर्ने किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्षले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाइएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।
यायोक्खाका अध्यक्ष किराँतले कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको भए पनि त्यस विपरीत उनीहरु जिल्ला आएकाले विरोध गरिएको बताए ।
प्रदर्शनकारीहरुले नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए ।