Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र



विराटनगर : पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्। सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन लिएपछि सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन।

सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए। उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धति शान्ति र अनुशासन बिना हुन नसक्ने बताए।

पूर्वराजा शाहले भने, ‘स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’

शाहले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु, राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनुपर्ने बताए । उनले भने, ‘निश्चय पनि हामीले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुछ ।’

राष्ट्र नै आफ्नो ब्रह्म भएको बताउँदै उनले आफ्नो भूभागका जनता नै हाम्रा विधाता भएको र प्रकृति र प्राणीको बोध गर्नु नै धर्म भएको बताए ।

‘त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोँण जाग्रत हुँदै जाओस्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार