विराटनगर : पहिलो पटक देश बाहिरको प्रतियोगितामा सहभागी भएको भारतको केरेलास्थित लुका सकर क्लब विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । उपाधिका लागि लुका सकरले अब घरेलु टिम विराटनगर सिटी एफसीको सामना गर्नुपर्नेछ ।
विराटनगर भने ६१ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । तत्काली महेन्द्र गोल्डकपमा विराटनगरले दुई पटक फाइनलमा पुग्दै एक पटक उपाधि हासिल गरेको थियो ।
सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।
महेन्द्र गोल्डकप हुँदा घरेलु टिम मोरङ ११ २०१८ र ०१९ मा फाइनलमा पुगेको थियो । ०१८ मा भारतको कलकत्तोसँग फाइनलमा पराजित भएको घरेलु टिम मोरङ ११ ले ०१९ मा भने उपाधि हात पार्न सफल भएको थियो । त्यसयता फाइनलमा पुग्न नसकेको नेपाल करिब ६ दशकपछि फाइनलमा प्रवेश गरेको हो ।
सातौँ संस्करणको फाइनल खेल आज विराटनगरस्थित शहिद रंगशालामा हुँदै छ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने आयोजकले जनाएको छ ।
६१ वर्षपछि फाइनलसम्मको यात्रा तय गरेको विराटनगर घरेलु दर्शकको उपस्थितिमा उपाधि रक्षा गर्ने रणनीतिमा छ । यता, पहिलो पटक सहभागी जनाउँदै फाइनलसम्म पुगेको लुका सकर पनि कुनै हालतमा उपाधि आफ्नो हातमा पार्ने दाउमा छ ।
बधुबार विराटनगरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र टिम कप्तानले उपाधि जित्नेमा ढुक्क भएको बताए । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा उपाधि जित्ने टिमको लक्ष्य भएको बताए । यस्तै विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे ।
यता लुका सकरका प्रशिक्षक नभास नोका र कप्तान अर्सादले अगाडिका खेलमा जसरी नै आफ्नो टिमले खेल्ने बताए । उपाधि हात पार्नका लागि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनीहरुले बताए ।
विराटनगर समूह ‘ए’ र लुका सकर समूहको ‘बि’ को विजेता बन्दै फाइनल प्रवेश गरेका हुन् । विराटनगर विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । लुका सकरले संकटा क्लब र साविक विजेता विभागीय टिम एपीएफलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो ।
गत चैत ९ गतेबाट सुरु भएको गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।