Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नगर प्रमुखले हाजिर गर्न नदिएपछि रतुवामाईका प्रमुख प्रशासकीय अधिकृत फर्किए

मेयर भन्छन् : मन्त्रालयले भनेर हुँदैन्



विराटनगर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मोरङको रतुवामाई नगरपालिकाले फिर्ता पठाएको छ ।

मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने हाजिर हुनका लागि केहीदिन अघि नगरपालिकाको कार्यालय पुगेका थिए । निमित्त प्रमुखको भरमा रहेको रतुवामाईमा मन्त्रालयले गत फाल्गुन १६ गते न्यौपानेलाई रतुवामाईको प्रशासकीय अधिकृत बनाएर पठाएको थियो ।

तर, रतुवामाईका नगर प्रमुख नागेश्वरप्रसाद सिंहले न्यौपानेलाई हाजिर गर्न नदिएपछि उनी फर्किएका छन् । हाजिर गर्न नदिएर फिर्ता पठाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई ७ दिन भित्र हाजिर गराउन रतुवामाई नगरपालिकालाई पत्रसमेत लेखेको छ ।

मन्त्रालयले चैत्र ९ गते लेखेको पत्रमा नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र नगरपालिकाको खाता संचालन गर्न भनेको छ ।

यता रतुवामाईका प्रमुख सिंहले मन्त्रालयले पठाएको अधिकृतलाई आफैले हाजिर गर्न नदिएको स्वीकार गरे । उनले भने, ‘हो मैले नै उहाँलाई हाजिर गर्न नदिएर फिर्ता पठाइदिएको हुँ ।’ हाल रतुवामाईमा रहेका प्रमुख प्रशासकीय अधिकृत हरिहर घिमिरेभन्दा मन्त्रालयले पठाएका न्यौपाने जुनियर भएकाले हाजिर गर्नबाट रोकेको उनले बताए ।

‘मन्त्रालयले जसलाई भन्यो त्यसलाई हाजिर गराउँदैनौँ,’ उनले भने, ‘सिनियर र जुनियरको कुरा हुन्छ । उहाँ (न्यौपाने) जुनियर कर्मचारी हो ।’

यस्तै उनले मन्त्रालयले ७ दिनभित्र हाजिर गर्न दिनु भनेर लेखेको पत्रबारे प्रतिक्रिया दिँदै उनले उक्त कर्मचारीलाई हाजिर गर्न नदिने भनेर मन्त्रालयमा अर्को पत्र फिर्ता पठाएको बताए । ‘हामीसँग भएकाभन्दा सिनियर कर्मचारी आए भने मात्र राख्छु नत्र मन्त्रालयले भनेर हुँदैन,’ उनले भने ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालले अवकास प्राप्त गरेपछि शिक्षा शाखा प्रमु्ख रहेका घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्म दिइएको थियो ।

यस्तै उपप्रमखु दमयन्ता चुडालले नगर प्रमुखका कारण नयाँ आएका अधिकृत फिर्ता गएको बताइन् । ‘हामी मन्त्रालयबाट सरुवा भएर आएका अधिकृतका बारेमा कार्यपालिका बैठकमा छलफल गरौँ भनेका थियौँ,’ उनले भनिन्, ‘बैठक चल्नुभन्दा अगाडिनै मेयर सापले फिर्ता पठाइसक्नु भएछ ।’

कतिपयले भने आफूलाई काम गर्न सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्षले आफू अनुकुल नभएपछि विभिन्न बाहाना बनाएर फिर्ता गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार