Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराट गोल्डकप: जावलाखेललाई हराउँदै विराटनगर सिटी फाइनलमा



विराटनगर : विराटनगर सिटी एफसी जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार विराटनगरस्थित सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले हराउँदै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा विराटनगरका स्टेफन ब्याङगनलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले बचाउन खोज्दा फिर्ता आएको बललाई स्टेफनले गोलमा परिणत गरिदिएका थिए ।

यस्तै खेलको ८७ औं मिनेटमा विमलकै पासमा अभिषेक गुरूङले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले एक गोल फर्कायो ।

जावलाखेलका लागि दोस्रो हाफको अतिरिक्त समयमा हिसुब थपलियाले सान्तवना गोल फर्काए पनि जित दिलाउन सकेनन् ।

खेलको म्यान अफ म्याच घोषित भएक विराटनगर सिटीका स्टेफन ब्याङगनले नगद ११ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मंगलबार भारत केरलाको लुका सकर क्लब र साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार