विराटनगर : भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने प्रलोभन देखाएर गैरशरणार्थी युवाबाट मोटो रकम असुलेको आरोपमा तीन जना पक्राउ परेका छन् । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन् ।
काठमाडौँबाट पक्राउ परेका उनीहरुले ५ वर्षयता विभिन्न गिरोह सञ्चालन गरेर ठगी धन्दा गर्दै आएका छन् । उक्त सञ्जालका मुख्य नाइके मोरङ घर भएका केशव दुलाल हुन् । उनी नेपाली कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा स्वकीय सचिव थिए ।
यो गिरोहले दाङ, अर्घाखाँची, सल्यान, बागलुङ, झापा, मोरङ, सुनसरी, गोर्खा, कास्कीलगायत जिल्लाका युवाहरुको रकम ठगी गरेको आरोप छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता राठौरका अनुसार उनीहरुले गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको छ । उनले भने, ‘अहिलेसम्म ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ उठाएको प्रमाण भेटेका छौँ ।’ यस विषयमा थप अनुसन्धान सुरु भएको र विस्तृत विवरण आइनसकेको उनले बताए ।
दुलाल नेतृत्वको गिरोहले भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै पैसा ठगी गरेको उपत्यका अपराध अनुसन्धान स्रोतले बतायो ।
नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेपछि उनीहरुलाई पक्राउ गरेको राठौरले जानकारी दिए ।