Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन: अमनलाल मोदी



काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै उनले निजामती प्रशासनभित्र देखिएको बेथितिलाई सुधार गरिने बताए ।

‘निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेमा छटपटी भएको छ,’ मोदीले भने, ‘वृत्ति विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।’

कर्मचारी जनताको सेवकभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेको जनाउँदै मन्त्री मोदीले जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिए ।

‘तपाईंहरू आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाईं हाम्रो एउटै उद्देश्य भनेको देश र जनताको सेवा गर्नु हो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार