विराटनगर : पाँचथरको सदरमुकाम फिदिमबाट ताप्लेजुङ जाने क्रममा कोशी प्रदेश माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ ।
प्रदेशको नामकरणका विषयलाई लिएर केहीदिनयता जारी रहेको कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिका सदस्यहरुले आक्रमण गरेको बताइएको छ । उनीहरुले आङ्बो सवार गाडीमा ढुंगामुडा समेत प्रहार गरेका छन् । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार प्रदर्शनकारीहरुले फुङलिङदेखि ८ किलोमिटर तल लुकेर ढुंगा हानेको पाइएको छ । आक्रमण गर्नेको खोजी भइरहेको उनले बताइन् ।
प्रदेशको नामकरण भएसँगै पहिचानवादीहरुले केहीदिन यता कोशी नामकरणको चर्को विरोध गर्दै आन्दोलन गरिरहेका छन् । आइतबार प्रदेशको राजधानी विराटनगरमा बृहत प्रदर्शन गरेका थिए । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि पनि सोमबार ओखलढुंगाबाट विराटनगर फर्किने क्रममा आक्रमणको प्रयास भएको थियो ।
https://www.facebook.com/purbelipress1/videos/712372237335605