विराटनगर : रंगेली नगरपालिकाका जनप्रतिनिधिलाई गालीगलौज र दुर्व्यवहार गर्ने रंगेली २ का लिलाराज खरेललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ रंगेली ७ का वडा अध्यक्ष रामचन्द्र मण्डललाई दुर्व्यवहार गर्दै नगरप्रमुख दिलीप बगडियालाई समेत गाली गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पटकपटक स्थानीय बासिन्दा तथा जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्दै आएका खरेललाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्धामा ७ दिनको म्याद थप गरेको छ ।
खरेलले २०७४ सालमा पनि कर्मचारीलाई कुटपिट दुर्व्यवहार गर्दा पनि पक्राउ गरिएको थियो । त्यसबेला उनी धरौटीमा छुटेका थिए ।
रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले उनका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । सुरुमा प्रहरीले उनलाई पक्राउ गरी कारबाही गर्न आनाकानी गरेपछि जनप्रतिनिधिले दवाव दिएका थिए । रंगेलीका नगरप्रमुख दिलीप बगडियाले उनको विषयमा कार्यपालिकाको समेत ध्यनाकर्षण भएको र बैठकबाट उनलाई कारबाही गर्न माग गरिएको बताए ।
नगरभित्र केहीदिनअघि एक जना युवक पक्राउ पर्दा पनि प्रहरीले राम्रो अनुसन्धान नगरी छाडेको गुनासो छ । स्थानीय जनप्रतिनिधिले कतिपय मुद्धामा प्रहरी सत्ताधारी दलबाट परिचालित हुने गरेको आरोप लगाउँदै आएका छन् ।