रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी हुनुभएपछि बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमाणपत्र वितरण समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। तस्बिरः रत्न श्रेष्ठ/रासस
काठमाडौं । नौ दलको सर्मथनमा राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई बिहिबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान प्रदान गरेका हुन्।
कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराए ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, निर्वाचन आयोगका आयुक्तहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
राष्ट्रपतिको निर्वाचनमा पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।