उदयपुर : प्रहरीले उदयपुरका अलगअलग स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । कटारी र त्रियुगाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
कटारी नगरपालिका–१ बेलस्रोतस्थित कालिखोलाबाट प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरसहित सिरहाको मिर्चैया नपा–४ का २२ वर्षीय ललित सिंहलाई २२ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश पोदारले बताए ।
यस्तै त्रियुगा नपा ६ लालपत्तास्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलिले दुई जनालाई पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ आउँदै गरेको अटोलाई चेकजाँच गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा त्रियुगा नपा १२ का २० वर्षीय रामशंकरकुमार साह र त्रियुगा नपा ३ भुल्केका १८ वर्षीय अमिर भन्ने सजाद अली रहेका छन् ।
उनीहरुको साथबाट फेनारागन १५ एम्पुल, डाइजोपाम १५ एम्पुल र बुप्रिनोरफिन १५ एम्पुल गरी जम्मा ४५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।