इटहरी । मानिस भित्र लुकेर रहेको प्रतिभा र क्षमता विकासकालागि जीवन विज्ञानले शनिबारबाट इटहरीमा पूर्वाञ्चल जागरण अभियान सुरु गरिएको छ ।
मानिसमा लुकेर रहेको उसको स्वास्थ्य र समृद्ध हुने क्षमतालाई चिन्नेबाटो देखाउन आयोजना गरिएको कार्यत्रममा देशभरबाट ५ हजारको हाराहारीमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विकास विशेषज्ञ एल पी भानु शर्माले अहिलेको मानिस रोग, सोक, कलह, बैमनश्यता, अभाव, रीस जस्ता संवेगले भरिएकाले त्यसलाई हटाउन जागरण अभियान सुरु गरेको बताए । उनले मानिसमा रहेका रोग, निरासा र कुन्ठाहरु हटाएर उसमा भएका सम्भावनाहरु चिनाउनका लागि जीवन विज्ञानले बैज्ञानिक अध्यात्मको बाटो अपनाएको बताए ।
व्यक्तिमा डर, रिस, कलह, शत्रुतापूर्ण संवेगहरू हुदाँसम्म मानिसको प्रगती नहुने र मानिसको प्रगती नहुँदासम्म समाज र राष्ट्रको प्रगती नहुने भएकाले आफूभित्रै जागरण ल्याउनु पर्ने बताए । उनले मानिस आफुभित्रैबाट जागरण नल्याईकन देश, समाज, परिवार, मानवता र विश्वका लागि फाइदा नहुने भएकाले आध्यात्मिक जागरण आवश्यक भएको बताए । उनले भने, ‘जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने विश्वास लिएको छु।’
कार्यक्रममा कलाकार मदन कृष्ण श्रेष्ठले जीवनका लागि अध्यात्म मुल भएको बताउँदै उनले आध्यात्मिकता नहुँदा मानिस राक्षस हुने बताए। कलाकार हरिवंश आचार्यले जीवन विज्ञानको अनुसरण राजनीतिक दलका नेताले गरे देशमा सुधार आउने आशा गरे।
जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेशले आयोजना गरेको जागरण उत्सवमा नेपाल र नेपालबाहिरबाट गरी करिब ५ हजारको सहभागिता थियो ।
कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद् गरिनेछ। त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोशी प्रदेश संयोजक बालिका खड्का भट्टराईले बताइन्।