विराटनगर : पार्टीमा व्यक्तिवादी चरित्र हाबी भएको भन्दै झापाका पाँच जना एमाले नेताहरुले सामूहिक पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपा एमाले झापा जिल्ला कमिटीकी उपसचिव चन्द्रकला श्रेष्ठसहित पाँच नेताले एमाले परित्यागको घोषणा गरेका हुन् । श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयरसमेत हुन् ।
यस्तै पार्टी छाड्नेहरुमा नेकपा एमाले प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका सदस्य हवालो दिन मियाँ र बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रमिह मियाँ रहेका छन् ।
उनीहरुले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीप्रति १८ बुँदामा असहमति प्रस्तुत गरेका छन् ।
२०६२।०६३ सालमा निरंकुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी (नेकपा एमाले) राजावादी शक्ति राप्रपासंग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई कमजोर बनाएको उनीहरुले आरोप लगाएका छन् ।
यस्तो उनीहरुको असहमति
१. २०६२।०६३ सालमा निरंकुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी (नेकपा एमाले) राजावादी शक्ति (राप्रपा) संग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा ३ नं. क्षेत्रमा नेकपा एमालेलाई कमजोर बनाएको।
२. राप्रपाको आलोचना गर्र्नेे नेता कार्यकर्ताहरुको चरित्र हत्या गर्ने तर निर्वाचन अभियानको क्रममा एमाले कार्यकर्ताहरुले भोग्नु परेको अपमान, राप्रपाको निगरानी र एमाले कार्यकर्तालाई राप्रपामा प्रवेश सम्म गराउने राजनीतिक घटनको नेतृत्वले वेवास्था गरेको।
३. पार्टीमा केही कार्यकताहरुलाई पार्टी नेतृत्वले प्रोत्सान दिएको, उनीहरुले पार्टी नेतृत्वलाई जे सुनायो त्यसैमा विश्वास गर्ने पार्टी सम्बद्ध विभिन्न इस्युहरुमा आम कार्यकर्ताहरुको यथार्थ भावनालाई पार्टी नेतृत्वले वेवास्ता गरी पक्षपात र भेदभाव पूर्ण निर्णय गर्ने गरेको।
४. पार्टीभित्र काखा पाखा गर्ने परिपार्टीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्त निष्ट नेता कार्यकर्ताहरुलाई एकतावद्ध बनाई सुदृढ पार्टी संगठन निर्माणमा केन्द्रिय तथा जिल्ला कमिटि नेतृत्वको गम्भीर ध्यान आर्कषण गर्दापनि उहाँहरुले उक्त कुराहरुको कुनै पर्वाह नगरेको।
५. पार्टीभित्र पार्टी नेतृत्वको आर्शिवाद र संरक्षण निर्णायक बनेको र ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने परीवेश पार्टिमा नरहेको।
६. अब पार्टीमा जतिसुकै योगदान गरेपनि पार्टी नेतृत्वको आर्शिवाद नहुन्जेल पार्टीभित्र कार्यकर्ताहरुको निश्पक्ष मुल्यांकन हुने परिवेश नरहेको।
७. पार्टीमा फरक मत राख्ने वा नेतृत्वको कमि कमजोरी औल्याउने कार्यकर्तालाई जिम्मेवारी नदिने प्रवृत्ति हावी भएको र उनीहरुलाई राजनीतिक रुपले किनारा लगाइएको।
८. पार्टी माक्र्सवादी दर्शनबाट निर्देशित हुन छोडेको।
९. पार्टीभित्र मजदुर, किसान र श्रमजिवी वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दै गएको।
१०. बुर्जुवा पार्टी र नेकपा एमालेमा फरक देखिन छोडेको।
११. पार्टी नीति भन्दा नेता प्रधान हुँदै गएको।
१२. पार्टीमा अन्तरपार्टी लोकतन्त्रभन्दा गुटतन्त्र हावी भएको।
१३. पार्टी एकल व्यक्तिको कम्पनी जस्तो भएको सबै कुरा पार्टी नेतृत्वको एकल निर्णयबाट चल्ने गरेको।
१४. पार्टीभित्र सामुहिक नेतृत्वको परिपाटी हराउँदै गएको।
१५. आफू जिल्ला कमिटिको उपसचिव रहेतापनि कार्यलय कमिटि र पदाधिकारी वैठकमा नबोलाई गुटगत रुपले निर्णय गर्ने गरिएको।
१६. पार्टीलाई पार्टी नेतृत्वको आर्शीवाद प्राप्त सिमित कार्यकर्ताहरुले स्वार्थपूर्ति गर्ने भाडो मात्र बनाउन खोजेको।
१७. पार्टीभित्र दलाली र चाकडी चाप्लुसी हावी हुँदै गएको, स्वाभिमानी कार्यकर्ताहरुलाई अपमानित र तिरस्कृत गरिएको।
१८. पार्टी कार्यकर्ताहरुलाई आलोचनात्मक चेत र क्षमता भएका ठिक बेठिक सही र गलत विश्लेषण गर्ने क्षमता भएका र उत्पादनसंग जोडेर समाजवाद तर्फको समृद्धिको यात्रामा पूर्वाधार तयार गर्नुपर्नेमा नेतृत्वको जयजयकार गर्ने बनाउने कार्यकर्ता पंक्ती तयार गर्ने काम पार्टी भित्रै भईरहेको।