विराटनगर : प्रदेशसभाको दोस्रो कार्यकालको दुई महिनानै प्रदेश १ सरकारले नाम पाएको छ । बुधबार प्रदेशसभाका दुई तिहाइभन्दा बढी प्रदेशसभा सदस्यले प्रदेशको नाम कोसी पारित गरेका हुन् ।
प्रदेशको नामकरणका लागि बुधबार राति भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ मत खस्दा विपक्षमा ४ मत खस्यो । प्रदेशसभाको बैठकमा सभामुखसहित ८७ जना उपस्थित थिए ।
तर, अघिल्लो कार्यकालमा नाम राख्न नसकेर चौतर्फी आलोचना सहेको प्रदेशसभाले नाम टुंग्याउने दिन ६ जना प्रदेशसभा सदस्यहरु अनुपस्थित भए ।
अनुपस्थित हुनेहरुमा नेपाली कांग्रेसका भीम पराजुली, खगेश्वरी पौडेल, खगेन सिंह हाङ्गाम (लिम्बु), नेकपा माओवादीका राजेन्द्र किराँती, जसपाकी निर्मला लिम्बु र राप्रपाकी सबिना बजगाई रहेका छन् ।
तीमध्ये निर्मला र सविना प्रदेशसभामा उपस्थित भएर पनि मत विभाजन प्रक्रियामा सहभागी हुन् पाएनन् । उनीहरु निर्धारित समयभन्दा केही ढिला गरी पुेगपछि उनीहरुलाई सभामा प्रवेश गर्न दिइएको थिएन् । नामकरण प्रस्तावको विषयमा भएको छलफलमा भने उनीहरु सहभागी भएका थिए ।
सविना आमा बिरामी भएपछि बैठक बीचमै छाडेर गएकी थिइन् । ‘बैठक चलिरहेको समयमा एक्कासी आमा बिरामी पर्नुभयो भनेर फोन आयो,’ सविनाले भनिन्, ‘आमालाई अस्पताल लगेर ल्याउँदा ल्याउँदै ढिला भयो । आमालाई घर ल्याएर बैठकमा जाँदा ढोका बन्द भइसकेको थियो ।’
सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा संशोधन दर्ताका निम्ति २ घण्टाका लागि बैठक स्थगित गरेपछि प्रदेश सरकारकी स्वास्थ्यमन्त्रीसमेत रहेकी निर्मला लिम्बू क्वाटर गएर फर्किदा ढिलो भएको थियो ।
अन्य चार सांसद भने बिहानैदेखि बैठकमा उपस्थित भएका थिएनन् । कांग्रेस सांसद भीम पराजुली भारत गएकाले आउन पाएनन् । अरु तीन जना व्यक्तिगत कारण देखाएर दआएको बताइएको छ ।