विराटनगर : अघिल्लो कार्याकालमा प्रदेशको नाम राख्न नसकेर चौतर्फी आलोचना खेपेको प्रदेश १ ले आज नाम पाउने भएको छ । नामकरणका लागि आज दिउँसोदेखि जारी रहेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ ।
नेकपा एमालेका तर्फबाट रामबहादुर रानाले प्रस्ताव गरेको नाम कोसी प्रदेश बहुमतले पारित भएसँगै उक्त नाममाथि छलफल भइरहेको थियो । प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर सभामुखले २ घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले साँढे ८ बजेसम्मका लागि समय दिएका छन् ।
एमालेले प्रस्ताव गरेको कोसी प्रदेशका लागि नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाको समर्थन रहेको छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने पहचिानका आधारमा नामकरण हुनुपर्ने बताउँदै आएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो । उक्त नामको समर्थकमा नेकपा एसका कमलप्रसाद जगेबु र जसपाकी निर्मला लिम्बू रहेका थिए ।