Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ का प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी



विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

प्रहरी सेवामा प्रवेश गर्ने बेला पेस गरेको नागरिकता, सिटरोलमा उल्लेख गरेको जन्म मिति र शैक्षिक प्रमाणपत्रमा भएको जन्ममितिबारे अनुसन्धान गर्न माग गरिएको छ । उनीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उजुरी दिएका हुन् ।

उक्त उजुरीमा ज्ञावलीले सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेको उल्लेख छ । उक्त उजुरीका अनुसार नेपाल प्रहरीको सिटरोलमा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गते र नागरिकतामा २०२४ चैत २१ भएको उल्लेख छ ।

‘२०५० मंसिरमा प्रकाशित प्रहरी निरीक्षकको विज्ञापनमा सो पदमा योग्य हुन २० वर्ष पूरा भएको र २५ वर्ष पूरा नभएको हुनुपर्ने व्यवस्था थियो । सो व्यवस्थाअनुसार २०२४ साल चैत मसान्त सम्मको भए पनि योग्य नहुने देखिन्छ । सो विज्ञापनमा २०२५ साल बैशाख १ वा सोभन्दा पछिको जन्ममिति भएका उम्मेदवार योग्य हुन्छ,’ उजुरीमा उल्लेख गरिएको छ, ‘तर, श्यामलाल ज्ञावलीको उमेर नागरिकतामा २०२४ चैत २१ उल्लेख भएको छ ।’

केही दिनअघिमात्र नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अशोक सिंहले जन्ममिति विवादका कारण राजिनामा दिएका थिए । उजुरीकर्ताले अशोक सिंहमात्र नभएर अन्य प्रहरी अधिकारीहरुले पनि नागरिकता र शैक्षिक प्रमाणपत्र सम्बन्धि तथ्य लुकाएको आरोप लगाएका छन् ।

पछिल्लो समय प्रहरीमा नागरिकता र प्रमाणपत्रबारे कैफियत देखिन थालेसँगै आयोगले सुरक्षा निकायहरू प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीको अभिलेख पठाउन प्रहरी, सशस्त्र र विभागको मुख्यालयमा पत्राचार गरेको छ ।

Shyam (3)1677425709.jpgShyam (2)1677425703.jpgShyam (1)1677425702.jpg

 

प्रतिक्रिया
सम्बन्धित समाचार