Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रियंका हत्या प्रकरण : शंकाको भरमा हत्या, गाडी खोज्दा बाहिरियो घटना



विराटनगर : मोरङको विराटनगरकी प्रियंका सुनुवारको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ । हत्या गरेर बोराभित्र हालेर फालेको अवस्था सोमबार दिउँसो प्रियंकाको शव बुढिगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा फेला परेको थियो ।

प्रहरीले हत्या गरेको आरोपमा प्रियंकाका श्रीमान २९ वर्षीय रमेश साहसहित अन्य तीन जनालाई सोमबारनै पक्राउ गरिसकेको छ । प्रहरीले कटहरी ५ का ६२ वर्षीय रामानन्द राम, सोही स्थानका ३५ वर्षीय उमेश सरदार, र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

माइती घर भारत भएकी प्रियंकाको घर विराटनगर १९ मा छ । मोरङ प्रहरीले पारिवारिक खटपटका कारण शंकाकै भरमा हत्या भएको जनाएको छ । प्रियंकाका श्रीमान (रमेश शाह) ले परपुरुषसँग सम्बन्ध रहेको शंकामा श्रीमतीको हत्या गरेको खुलेको छ ।

पारिवारिक सम्बन्धमा आएको खटपटका कारण नै रमेशले योजनावद्ध तरिकाले प्रियंकाको हत्या गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले शरीरभर चोटपटक लागेका कारण हत्या गरेर शव लुकाउनका लागि बोराभित्र हालेर फालेको हुनसक्ने बताए । घटनाको जानकारी पाए लगत्तै मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

स्थानीयका अनुसार रमेश र प्रियंकाबीच पटकपटक एकअर्कालाई आशंका गरेर झगडा गेर्न गर्थे । उनीहरुको झगडा स्थानीय प्रहरीसम्म पुगेको थियो । केही समययता उनीहरु एक अर्कालाई निकै शंका गर्थे । उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् ।

कसरी घट्यो घटना ?
रमेशले श्रीमती प्रियंकालाई घुम्नका जानका लागि आइतबार घरबाट लिएर बुढिंगगा लगे । त्यहाँ उनले अमाहीमा रहेको नरसिंह चौधरीको घरमा पुर्याए ।

उनीहरु बाइकमा गएका थिए । तर, रमेशले रमानन्द राम र उमेश सरदारलाई पनि साथमै लगेका थिए । रमानन्दका माध्यमबाट रमेशले प्रियंकालाई नरसिंह चौधरीको घरमा पुर्याएका थिए । रमानन्द र नरसिंह नातेदार हुन् ।

प्रहरी स्रोतका अनुसार अमहीमा नरसिंह चौधरी आफ्नी पत्नि र एक छोरासँग बस्दै आएका थिए । तर, आइतबार दिउँसो नरसिंह घरमा एक्लै थिए । त्यहीबेलामा रमेश श्रीमती र अन्य दुई जना लिएर त्यहाँ पुगेका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार रमेशले प्रियंकालाई नरसिंहको घर पुर्याएपछि रमानन्दले नरसिंहलाई गाउँतिर पठाएका रहेछन् । उनले भने, ‘घर मुलीलाई बाहिर पठाएपछि रमेश र प्रियंका घरभित्र पसे । त्यही बीचमा उनीहरूबीच विवाद भयो । लडाएर घाँटीमा तन्नाले थिचेर हत्या गरेको आरोपीले स्वीकार गरेका छन् ।’

हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

शव बहान खोज्दा बाहिरियो घटना ?
प्रियंकाको हत्या गरेपछि उनीहरुले दुईजनाले बोरामा पोको पारेर ग्वालीमा राखेर हिडेका थिए । हत्या गरेर बोरामा हालेर गोठमा राखेपछि रमानन्द राम गाडी खोज्द विराटनगर आए । आइतबार राति ११ बजे उनी कोसी अस्पताल विराटनगरमा गाडी खोजिरहेका थिए ।

रामले लास बोक्नुपर्ने भन्दै कोसी अस्पतालमा गाडीवालाहरुसँग भाडा सोधिरहेका थिए । तर, लास अस्पतालभन्दा बाहिर भएको भनेपछि उक्त सूचना प्रहरीसम्म पुग्यो । गाडी खोज्द कोसी अस्पताल पुगेका रामलाई प्रहरीले रातीनै नियन्त्रणमा लिएको थियो ।

मानसिक रुपमा कमजोर जस्ता देखिएका रामले जब बुढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने त्यसपछि प्रहरीले महिलाको हत्या भएको सूचना पायो । त्यही लासलाई व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकोले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार