विराटनगर : विराटनगरकी २८ वर्षीया प्रियंका सुनारको हत्या गरेर बोराभित्र पोको पारेर फालेको अवस्था शव फेला पारेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हत्यामा संलग्न भएको आशंकामा प्रियंकाका पति मोरङको विराटनगर १९ का २९ वर्षीय रमेश साहसहित कटहरी ५ का ६२ वर्षीय रामानन्द राम, सोही स्थानका ३५ वर्षीय उमेश सरदार, र विराटनगर ७ का ५३ वर्षीय श्रीराम चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
बुढीगंगा गाउँपालिका वडा नम्बर २ अमाहिस्थित नरसिंह चौधरीको गाई गोठमा हत्या गरी बोराभित्र हालेको अवस्थामा मृतकको शव भेटिएको थियो ।
प्रियंकाको शरीरभर चोटपटक लागेका कारण हत्या गरेर शव लुकाउनका लागि बोराभित्र हालेर फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको जानकारी पाए लगत्तै मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहल नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार पोस्टमार्टमका लागि प्रियंकाको हव विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए।