विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोसी अस्पताल परिसरमा सरसफाई गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिको आयोजना र नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल विराटनगर महानगर कमिटीको सहकार्यमा सरसफाई सम्पन्न गरिएको हो ।
शुक्रबार बिहान अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीसहित, अस्पतालका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी, कर्मचारी तथा युवा संघका सदस्यहरुको उपस्थितिमा सरसफाई सम्पन्न भएको युवा संघका नेता निरञ्जन ढुंगानाले जानकारी दिए ।
अस्पताल जस्तो संवेदनशिल स्थानलाई सफा र सुन्दर बनाउन सफाई कार्यक्रम गरिएको उनले बताए । अस्पताको बाहिरी वातावरण स्वच्छ नभए अस्पताल आउने विरामीबाट गुनासो आउनुका साथै स्वस्थ व्यक्ति पनि विरामी पर्न सक्ने भन्दै उनले सरसफाई गरेको बताए ।