विराटनगर : गाई काट्दै गरेको अवस्थामा प्रहरीले सोलुखुम्बुको सल्लेरीबाट चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ क्याम्पस टोलमा गाई काट्दै गरेको समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
महाकुलुङ गाउँपालिका ५ का ३७ वर्षीय राजकुमार राई, उनकी श्रीमती ३९ वर्षीया अस्ती कुमारी राई, सोही स्थानका ४० वर्षीया फूलमाया रसाइली र २१ वर्षीय प्रेम रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । फूलमाया र प्रेम आमा छोरा हुन् ।
प्रहरीका अनुसार उनीहरु कोठा भाडा लिएर सदरमुकाम सल्लेरीमा बस्दै आएका थिए । पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।