Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको तुलसी सहकारीका उपाध्यक्ष र सचिव पक्राउ



कैलाश चापागाईं / विराटनगर : विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारीका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।

बचत गरेको रकम साँवा र ब्याजसहित फिर्ता पाउनुपर्ने माग राख्दै सहकारीका निक्षेपकर्ताहरु लगातार आन्दोलनमा थिए ।

उनीहरुले सहकारी सञ्चालक र अध्यक्षको घर घेरेपछि प्रहरीले सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा फरार भएपछि अन्य सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको छ ।

बचत गरेको रकम फिर्ताको माग गर्दै उनीहरु पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन गरिरहेका छन् ।

विराटनगरमा मुख्य कार्यालय रहेको सहकारीको उदयपुरस्थित गाइघाटमा रहेको शाखा कार्यालयमा पनि बचतकर्ताले तालाबन्दी गरेका छन् । यो विराटनगरको सबैभन्दा ठूलो सहकारी हो ।

सहकारीले निक्षेपकर्ताहरको रकम फिर्ता गरे पक्राउ परेका उपाध्यक्ष र सचिवलाई छाड्ने प्रहरीको भनाई छ । प्रहरीले कानुनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने डीएसपी कार्कीले बताए ।

सहकारीले भने अहिले विश्वभर भएको आर्थिक मन्दीका कारण समस्या आएको बताएको छ । बचतकर्ताको सम्पूर्ण रकम क्रमशः फिर्ता दिने सहकारीका मेनेजर सिताराम अधिकारीले बताए । उनले भने, ‘अहिले विश्वभर नै आर्थिक मन्दी छ । केही समय लाग्ला तर सबैको रकम फिर्ता हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार