Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपत्यकामा सार्वजनिक यातायात ठप्प



काठमाडौं : काठमाडौंमा सार्वजनिक यातायात नचल्दा उपत्यकाे जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सार्वजनिक सवारी नचल्दा यात्रुहरू मारमा छन्। अहिले चोक–चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएपनि उनीहरूले सार्वजनिक यातायात ठप्प पारेका छन्।

ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनमा गरिरहेका मजदूरमाथि आक्रमण भएको र प्रहरीले पनि मजदूरलाई पक्राउ गरेको भन्दै तीनै संगठनले विरोध जनाएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी र नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष दीपक केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी मजदूरमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।

मजदूरमाथि भएको आक्रमण र पक्राउ गरिएको विरोधमा फागुन २ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। मजदूरको आन्दोलनका कारण मंगलबार बिहानैदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालमा आएको छैन। जसले गर्दा आवातजावतमा समस्या भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार