विराटनगर : विराटनगर विमानस्थलमा सुविधा सम्पन्न नयाँ टर्मिनल भवन बन्ने भएको छ । भ्याटबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार लागतमा उक्त टर्मिनल भवन निर्माण हुने भएको हो ।
१६ हजार २७७ वर्ग मिटरमा बन्न लागेको टर्मिनल भवनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मन्त्री किरातीले समयमै काम सक्न र गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री सुदन किराँती
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उडान अवतरणको पिक आवर ट्राफिकमा १ हजार ८०० यात्रु धान्न सक्ने गरी टर्मिनल भवनको डिजाइन गरिएको छ ।
यो टर्मिनल भवन भैरहवा र पोखरा विमानस्थलमा निर्माण भएका टर्मिनल भवनभन्दा ठूलो हो । पोखरा विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटर र गौतमबुद्ध विमानस्थल भैरहवाको टर्मिनल भवन १४ हजार वर्ग मिटर रहेको छ ।
विमानस्थलमा बन्ने टर्मिनलको ठेक्का निर्माण कम्पनी केसी–डाँफे जेभीले पाएको छ । तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ ।
तीनै तहका सरकारको संयुक्त लगानीमा बन्न लागेको टर्मिनल भवन १७ टिकट घर, तीनवटा भीआईपी रुमसहित अन्य पसल, रेष्टुरेन्टहरु रहने बताइएको छ ।
नेपाल सरकारको ५० प्रतिशत लगानीमा बन्न लागेको भवनमा प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत तिर्ने सम्झौता भएको छ ।
हाल विराटनगर विमानस्थलमा रहेको टर्मिनल भवन २०२५ सालमा निर्माण भएको थियो ।
यस्तै विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । विमानस्थलमा अहिले एक हजार ५ सय मिटरको धावन मार्ग छ । त्यसमा २७० मिटर बढाउने तयारी भएको प्राधिकरणले जनाएको छ ।