विराटनगर : धनुषाको क्षीरेश्रनाथ नगरपालिका–५, स्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट फरार भएका एक कैदी पक्राउ परेका छन् । आइतबार राती हिरासतमा रहेका ७ जना थुनुवामध्ये ६ जना फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काक अनुसार हातहतियार मुद्दाका आरोपित रोशन महतोलाई सोमबार साँझ पक्राउ गरिएको हो । उनी मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ परेका हुन् ।
लागुऔषध, हातहतियार र अभद्र व्यवहारको मुद्धामा जेल चलान भएका अन्य पाँच जना अझै फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको जानकारी दिएको छ । हिरासतमा रहेको पुरानो भवनको शौचालयको कमजोर भाग तोडेर उनीहरु फरार भएका थिए ।
प्रहरीका अनुसार लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह र हातहतियार मुद्दा आरोपित शंकर सिंह फरार छन् ।
थुनुवा फरार घटनाको छानविनकालागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् ।