विराटनगर : झापाको कचनकवल गाउँपालिका ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले विवाहका लागि परिवारमा प्रस्ताव राखे । तर, उनीहरुको निर्णय परिवारले मानेन ।
परिवारले विवाहको प्रस्ताव अस्विकार गरिदिएपछि २०७८ साउन ११ गते उनीहरुले भागी विवाह गरे । विवाहपछि भने राजेशले पवित्रालाई आफ्नो घर लगे । विषेशगरी केटी पक्षका परिवारलाई यो सम्बन्ध मन परेको थिएन् । भागी विवाहपछि केही महिना पवित्रा राजेशकै घरमा बसेकी थिइन् ।
तर, आफ्नी छोरी नाबालिग भएको भन्दै पवित्राका बुबाले उनलाई घर लगे । घर ल्याएपछि पवित्रालाई उनको परिवारले केटाविरुद्ध मुद्धामामिला गर्न दवाव दिए । पवित्राले मुद्धा हाल्न अस्विकार गरेपछि बुबा भुवनलाल राजवंशीले आफैले छोरीलाई राजेशले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिए ।
राजेशविरुद्ध प्रहरीमा जाहेरी परेपछि उनी पक्राउ परे । राजेश र पवित्राको घर करिब एक किलोमिटरको दुरीमा छ । एउटै गाउँका छिमेकी भएका कारण दुवै परिवारलाई मिल्नका लागि सामाजिक दवाव आयो । दुई परिवारबीच पटकपटक छलफल पनि भयो । तर, घटनाले कानुनी रुप लिइसकेकाले केटी पक्षले अदालतमा बयान फेर्नुपर्ने भयो ।
केटाको परिवारले केटीको परिवारलाई ६ लाख रुपैया दिने शर्तमा अदालतमा बयान फेरियो । बयान फेरिएपछि दुई महिला जिल्ला कारागारमा रहेका राजेश जेलमुक्त भए ।
पवित्रालाई परिवारले घर फर्काए । राजेशपनि दुई परिवारबीचमा भएको सहमति मान्दै घर लागे । राजेश गाउँकै एक कुषि फार्ममा काम गर्थे । फार्ममा काम गरेको केहीसमयपछि उनले आफ्नै कुखुरा फार्म पनि खोलेका थिए । पवित्राको घरदेखि राजेशको कुखुरा फार्मको दुरी करिब ५०० मिटरको छ ।
पवित्राको परिवारका अनुसार उनीसँग मोवाइल फोन पनि थिएन् । परिवार, समाज र कानुनबाट टाढीएका उनीहरुले यो समयसम्म पनि भेट गरेका थिएनन् । तर, सोमबार राति उनीहरूले भेटे । फार्ममा राजेशसँगै सुतेका उनका भाईका अनुसार राजेश करिब बिहान ३ बजे उठेर बाहिर निस्किएका थिए ।
सँगै सुतेको दाइलाई ओछ्यानमा नदेखेपछि दिनेश आत्तिए उठे । उठेर चारैतिर खोजे तर कतै देखेनन् । त्यसपछि टर्चलाइट बालेर पोखरीको दक्षिणपट्टि रहेको चिया बगानतिर गए । चिया बगानको एउटा रुखमा कोही झुण्डिएकोजस्तो देखेपछि चिच्याउँदै गुहार मागे । कोही झुण्डिएको देखेपछि बगानमा पुगेका दिनेशले दाजु राजेशसँगै पवित्रालाई पनि एउटै पासोमा झुण्डिएको अवस्थामा भेटे ।
उनीहरुले अझै पनि परिवारले आफूहरुलाई एक हुन नदिने भएपछि माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरे ।
परिवारका अनुसार दुवैको केही महिनायता अवस्था सामान्य भइसकेको थियो । परिवारका मानिसले दुई जनालाई अलग नगरिदिएको भए यस्तो अवस्था नआउने कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी बताउँछन् ।
प्रहरीले पनि उनीहरूको आत्महत्याको कारण प्रेम असफल हुनु नै रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।