काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको हो। उनी पोखराकै बासिन्दा हुन्।
पोखराको सिद्धार्थचोकमा इलेक्ट्रिक सामानको नुरा इलेक्ट्रिक नामक होलसेल पसल चलाउँदै आएका सदाकत आफ्नी सानीआमालाई छाड्न काठमाडौं गएका थिए। उनकी सानीआमा (उमरा) मुस्लिम धार्मिक कार्यको लागि साउदी जाँदै थिइन्।
काठमाडौंबाट फर्कने क्रममा जहाज दुर्घटनामा उनको निधन भएको हो। परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन्। उनको इस्लाम संस्कार अनुसार अत्येष्टि गरिने आफन्तले जानकारी दिए।
यसैबिच नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको छ।
सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको छ । साथै, ४१ जनाको पहिचान भइसकेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ ।
यस्तै, थप सहजीकरणका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।