विराटनगर : एमाले संसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्री रवी लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले फौजदारी मुद्दाका आरोपी संसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका हुन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद महतो संसदमा आएको बताउँदै उनीमाथिको आरोपको विषय के हुन्छ भन्ने प्रश्न गर्दा गृहमन्त्री लामिछानेले भने, ‘मैले संसदमा देखिँन। पछि जानकारी पाएँ। जानकारी पाए लगत्तै मैले आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
महतो महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले संसद हुन् । मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।