विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट सञ्चालन हुने नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक सहेन शाह भनिने अब्दुल खत्ताबलाई अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउने तयारी गरेको छ । उक्त मिडियाका साझेदारसमेत रहेका विराटनगरका उद्योगी अरुणकुमार राठीलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा सिराह नगरपालिका–४ का खत्ताबलाई मुद्दा चलाउने तयारी गरिएको हो ।
खत्ताबले राठीलाई गत मङ्सिर १४ गते अन्तरवार्ताका लागि बोलाएर कुटपिट गरी १५ लाख रुपैयाँ फिरौती रकम लिएका थिए । राठीले खत्ताबसहित अन्य दुई जनाविरुद्ध मंसिर १८ गते मोरङ प्रहरीमा अपहरण र शरिर बन्धक मुद्धामा जाहेरी दिएपछि मंसिर २९ मा पक्राउ गरिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार खत्ताबका सहयोगी विराटनगरका जयकुमार रामलाई पनि पक्राउ गरिएको छ ।
नेपाल टाईम्सको पुरानो कार्यालयमा शरिर बन्धक बनाई हातपात गर्दै १५ लाख रकम असुल गरेको बाँकी १५ लाख एक हप्ताभित्र दिने सहमतिमा आफू छुट्न सफल भएको राठीले जाहेरीमा उल्लेख गरेका थिए ।