विराटनगर : पुस ८ गतेबाट किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल टी–ट्वान्टी क्रिकेट लिग सुरु हुँदै छ । प्रतियोगिताको पहिलो संस्करणमा ६ वटा टिमले सहभागीता जनाउने छन् ।
फ्रेन्चाईज लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स र लुम्बिनी अल स्टारले सहभागी जनाउने छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत मान्यता दिएको लिगमा विदेशीसहित नेपाली खेलाडीको सहभागीता छ ।
प्रतियोगिताका लागि विराटनगर सुपर किंग्सले १७ सदस्यीय टोलीको घोषणा गरेको छ । विराटनगरले ६ जना विदेशीसहित ११ जना नेपाली खेलाडीलाई टिममा समावेश गरेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले पनि विराटनगरबाट खेलदैछन् । तर, उनलाई विराटनगरले उपकप्तानको जिम्मेवारी दिएको छ ।
यस्तै गत सिजनको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सबाट खेलेका जिम्बावेका पूर्वकप्तान सिकन्दर राजा पनि विराटनगर सुपर किंग्सबाट खेल्दैछन् ।
तर, विराटनगरले भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका पूर्वकप्तान सिकन्दर राजालाई छाडेर वेस्ट इन्डिजका ३५ वर्षीय ब्याट्सम्यान आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ ।
विराटनगरले यसअघि रोहित पौडेललाई मार्की खेलाडी बनाएको थियो ।
विराटनगर किंग्सले प्रतियोगिताका लागि टोलीसँगै जर्सी पनि सार्वजनिक गरेको छ ।
सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप र राज रोक्की नानन गरी ६ जना विदेशी खेलाडी समावेश टोलीमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु बास्कोटा र रिजन ढकाल रहेका छन् ।