Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अपराधिक पृष्ठभूमि भएका युवकको कुटपिटबाट मोरङमा एक जनाको मृत्यु



विराटनगर : मोरङको केराबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अपराधिक पृष्ठभूमि भएका लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूको आक्रमणबाट केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको मृत्यु भएको हो ।

उनीहरुबीच गत पुस ३ गते केराबारी–९ स्थित एउटा पसलअगाडि विवाद भएको थियो । विवाद बढ्दै गएपछि लिम्बूले राईमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याएका थिए । अस्पतालले उपचार सम्भव नभएको बताएपछि परिवारका सदस्यले राईलाई घर लगेका थिए ।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । लिम्बू यसअघि जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दामा दोषी ठहर भएपछि सजाय भुक्तान गरेर छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार