Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डको प्रष्टीकरण- आफैँ प्रधानमन्त्रीको रेसमा कुद्‌ने काम गरेको छैन



प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । ‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरु नै हुन पनि सक्छ,’ गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रूपमा केही नभएको भन्दै उनले भने, ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।’

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमै टुङ्गो लगाउने समझदारी भएको बताए । गठबन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताए ।

आफूहरू गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने बताए । ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन,’ उनले भने । आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको उनले बताए । ‘तपाईंहरूले सुनेजस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन,’ उनले भने ।निर्वाचनपछि सबै दलहरूका बीचमा छलफल भने भइरहेको उनले बताए ।

प्रचण्डले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे । ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ,’ उनले भने ।राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरू कसैसँग पनि यो विषयमा छलफल नगरेको बताए ।

एमालेसहित अन्य दलहरूसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई-तीन पटक कुरा भएको भन्दै उनले सीके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए । ।

एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको उनले बताए । ‘औपचारिक र आधिकारिक रूपमा कुरा भएको छैन,’ उनले भने । सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए । सरकारले विगतमा मधेसकेन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार