विराटनगर : आइतवार फ्रान्समाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित हात पार्दै विश्वकप विजेता बनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने बताएका छन् ।
केही दिनअघि मात्रै ३५ वर्षीय मेस्सीले आइतबारको फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका थिए । यद्यपि, आफ्नो करियरको सबैभन्दा ठुलो उपाधि हात पारेपछि मेस्सीले अर्जेन्टिनाका लागि अझै केही समय खेल्न चाहेका छन् ।
‘मैले छोटो समयमै कोपा अमेरिका र विश्वकप जितेको छु,’ मेस्सीले स्पेनिस सञ्चारमाध्यसँग भने, ‘म विश्व च्याम्पियन भएर पनि राष्ट्रका लागि केही समय खेल्न चाहन्छु।’
डिएगो म्याराडोनाले सन् १९८६ मा मेक्सिकोमा जित दिलाएपछि अर्जेन्टिनालाई पहिलो पटक विश्व उपाधि जिताउन मद्दत गर्नु आफ्नो ‘बालपनको सपना’ पूरा भएको मेस्सीले बताएका छन् ।
‘विश्वकप जित्ने मेरो बाल्यकालको सपना हो’, मेस्सीले भने। ‘म भाग्यशाली रहेछु, यो उपाधि जित्न सफल भए ।’
यस्तै अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि मेस्सीलाई टिममा राख्न आफू सधैँ आतुर भएको बताएका छन् ।