विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको कार्यालय इटहरी पुगेर तत्काल सडक निर्माण गर्न दबाब दिएका छन् । विराटनगर-५ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि कोइरालाले दबाब दिएका हुन् ।
उनले स्थानीयको समस्या सम्बोधन गर्नु आफूहरुको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिए ।
ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ । ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ ।
“हामी बनाउन सक्दैनौं, तपाईंहरु नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्,” कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भने, “पटक–पटक तपाईंहरुले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हो, उहाँहरुले धेरै नै दुःख पाउनुभयो । त्यही भएर पनि म आफैं आएको हुँ । फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडकपीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।”
हुलाकी कार्यालयले ठेकेदारको खोजी भइरहेको र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएको छ । ठेक्का रद्द गर्ने प्रक्रियामा गइसकेको कार्यालयले प्रस्टीकरण दिएको छ । मेयरसँगै जामुनगाछी क्षेत्रका स्थानीय हुलाकी कार्यालय इटहरी पुगेका थिए । सडक नबन्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।