विराटनगर : अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो दोस्रो र सम्भवतः अन्तिम विश्वकपको फाइनलमा खेल खेल्दै छन् । दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि हात पारेयता विश्वकप जित्न सकेको छैन् ।
लियोलन मेस्सीका लागि आइतवार कतारको लुसेल स्टेडियममा फ्रान्स विरुद्ध हुने फाइनल खेल विश्वकपको ट्रफी हात पार्ने अन्तिम मौका हो । जुन ट्रफी उनको करियरबाटै टाढै रहको छ ।
मेस्सीले आफ्नो टिमलाई विश्व विजेता बनाए भने उनी यो पुस्ताको महान खेलाडी बन्नेछन् । किनकी क्रिस्टियानो रोनाल्डो र मेस्सीबीचमा लामो समयदेखि महान खेलाडीका बारेमा प्रतिस्पर्धा चलिरहेको छ । रोनाल्डोले आफ्नो देशलाई कहिल्यै फाइनलमा पुर्याएका छैनन् । मेस्सीले भने दुई पटक फाइनलमा पुर्याएका छन् ।

३७ वर्षीय रोनाल्डो जारी विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोसँगको खेलको पहिलो हाफमा पोर्चुगलको बेन्चमा थिए । दोस्रो आफमा मैदान प्रवेश गरेपनि खेल जिताउन सकेनन् । विश्वकपको ट्रफी उचाल्ने आफ्नो अन्तिम मौका समाप्त भएकाले उनी मैदानबाट आँसु झार्दै बाहिरिए ।
तर, मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलमा पुर्याएका छन् ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भन्छन्, ‘जब हामीले उसलाई खेलेको देख्छौं, उसले हामीलाई र खेलाडीहरूलाई केही विशेष महसुस गराउँछन्, उसको बारेमा केहि छ जुन विश्वका मानिसहरूले मन पराउँछन् ।’
डिएगो म्याराडोनासँगै अर्जेन्टिनाका दुई सबैभन्दा प्रतिष्ठित फुटबल स्टारका रूपमा मेस्सीको स्थान केही समयदेखि सुरक्षित छ । तर, उनले आफ्नो राष्ट्रिय टोलीलाई विश्वकपको उपाधि दिलाएर म्याराडोनाको सबैभन्दा ठूलो उपलब्धिको अनुकरण गर्न सकेका छैनन् ।
सन् २०१० मा दक्षिण अफ्रिकामा म्याराडोना प्रशिक्षक र स्टार खेलाडीको रूपमा मेस्सीको सम्भावित ‘सपना टोली’ थियो । तर अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पुर्याए । फाइनलमा फेरी जर्मनीसँग भिड्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि मेस्सीको अर्जेन्टिना अतिरिक्त समयमा १–० ले पराजित भयो । र मेस्सीको विश्वकप जित्ने सपना अधुरै रह्यो ।
तर, ३५ वर्षीय मेस्सीले फेरी एकपटक विश्वकप विजेता बन्ने अन्तिम मौका आएको छ । जारी विश्वकपमा पाँच गोल र तीन असिस्टकासाथ साथ उनी गोल्डेन बुटको प्रमुख दाबेदार पनि छन् । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुटका लागि मेस्सीलाई पछ्याइरहेका छन् । एम्बाप्पेले पाँच गोल र दुई असिस्ट गरेका छन् ।
यस्तै जुलियन अल्भारेजलाई स्थापित गराउन पनि मेस्सीको भूमिका महत्वपूर्ण छ । चार गोलसहित अल्भारेजको उदय अर्जेन्टिनाको प्रगतिको लागि महत्त्वपूर्ण छ ।

चार च्याम्पियन्स लिग उपाधि र विश्वका उत्कृष्ट खेलाडीका लागि सात बालोन डीओर अवार्ड जितिसकेका मेस्सीले आफ्नो व्यक्तिगत ट्रफीको संग्रह पूरा गर्ने लक्ष्य राख्दै गर्दा अर्जेन्टिनाले तेस्रो विश्वकपको लागि लामो प्रतिक्षा अन्त्य गर्न खोजिरहेको छ ।

यदि मेस्सीले विश्वकप नजितेर सन्यास लिए भने अर्जेन्टिनाले अझै विश्वकपका लागि कति कुर्नुपर्ने हो ? फ्यानहरुमा प्रश्न खडा भएको छ ।
कतारको सडकमा मार्चपास गर्दै प्रतियोगितालाई उज्यालो पारेका अर्जेन्टिनाका फ्यानहरूमा प्रतिक्षाको भावना बढ्दै गएको छ । मेस्सीले यो विश्वासलाई कायम राख्न खोजिरहेका छन् । प्रशिक्षक स्कालोनीलाई विश्वकपको साथ बिना मेस्सीको सबै समयको महानतम स्थितिमा कुनै शंका छैन् ।