Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्योगी राठीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा मिडिया सञ्चालक पक्राउ



विराटनगर : विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा ३१ वर्षीय सहेन्शा सिद्धिकी भनिने अब्दुल खत्ताबलाई प्रहरीले पक्राउ गरेको छ । खत्ताब विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालक हुन् । राठी पनि उक्त कम्पनीका साझेदार हुन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा खत्ताब पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

गत मङ्सिर १४ गते अन्तरवार्ताका लागि बोलाएर कुटपिट गरी १५ लाख रुपैयाँ असुलेको भन्दै उद्योगी राठीले खत्ताबसहित अन्य २ जना विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

राठीले जाहेरी दिएदेखि सम्पर्कविहीन भएका अब्दुललाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका खत्ताबलाई आजै जिल्ला अदालत मोरङले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको र हाल अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार