Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप २०२२: सेमिफाइनलमा फ्रान्सविरुद्ध इतिहास रच्ने तयारीमा मोरक्को



काठमाडौं : फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सले मोरक्कोसँग खेल्दैछ । विजेताले आइतबार फाइनलमा लियोनल मेसीको अर्जेन्टिनासँग खेल्नेछ भने पराजित टोलीले शनिबार तेस्रो स्थानका लागि क्रोएसियासँग खेल्नेछ।

सेमिफाइनलको स्थान सुरक्षित गर्ने क्रममा फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पन्छाएको थियो । लियोनल मेसीको अर्जेन्टिनासँगको भेट पक्का गर्न फ्रान्सले आज सेमिफाइनलमा मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जुन खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

मेसीका लागि यो विश्वकप अन्तिम हो र उनको टिम अर्जेन्टिनाले विश्वकपको फाइनलमा स्थान पक्का गरिसकेको छ । १८ डिसेम्बरमा हुने फाइनलमा मेसीले विश्वकपमा अन्तिम प्रहार गर्नेछन् र उपाधि जिताउन सफल भए आफूलाई महान् खेलाडीका रूपमा स्थापित गर्नेछन् । तर, उनको बाटोमा फ्रान्स वा मोरक्कोमध्ये एक खडा हुनेछ ।

१९६२ मा ब्राजिलपछि फ्रान्स अहिले लगातार विश्वकप उपाधि जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ भने इतिहास रच्न सफल मोरक्को फ्रान्सलाई रोक्न खेल्नेछ । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्न सफल भइसकेको छ ।

Framnce1671017261.jpg

फ्रान्सको उपाधि रक्षा अभियान
फ्रान्स २०१८ मा जस्तो सशक्त टिम नहुन सक्छ । तर, रुसमा विजय हासिल गरेको चार वर्षपछि पनि फ्रान्स दृढताका साथ उपाधि रक्षा अभियानमा छन् ।

करिम बेन्जेमा, पाउल पोग्बा, एन’गोलो कान्टे, क्रिस्टोफर एनकुनकु र प्रेस्नेल किम्पेम्बे घाइते भएका कारण टिममा छैनन् । टिमका केही मुख्य खेलाडी घाइते भएका कारण फ्रान्सलाई यसपटक तुलनात्मक रूपमा कमजोर हुने आकलन गरिएको थियो । तर, मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले अर्को समूहलाई एकजुट बनाए र टिम अझ मजबुत बनाए ।

२०१८ मा विश्वकपको उपाधि जितेको फ्रान्स युरो २०२० मा अन्तिम–१६ बाटै बाहिरिएको थियो । युरोकपमा फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । यूईएफए नेसन्स लिगमा पनि फ्रान्सले राम्रो प्रदर्शन गर्न सकेन । क्रोएसिया, डेनमार्क र अष्ट्रिया रहेको समूह–१ मा फ्रान्स तेस्रो स्थानमा रह्यो ।

डेसच्याम्प्सलाई थाहा छ कि एक प्रमुख प्रतियोगितामा टिम एकताबद्ध नहुनु हानिकारक हुनसक्छ । फ्रान्समा अहिले काइलियन एमबाप्पे मुख्य भूमिकामा छन् । उनले प्रतियोगितामा सबैभन्दा धेरै पाँच गोल गरिसकेका छन् । कतार विश्वकपमा २३ वर्षे एमबाप्पे हरेक खेलमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् । कतार विश्वकपमा पाँच गोल गरिसकेका एमबाप्पेले विश्वकपको १२ खेलमा ९ गोल गरिसकेका छन् । विश्वकपमा धेरै गोल गर्ने कीर्तिमान बनाउन सफल जर्मनीका मिरोस्लाभ क्लोसले १६ गोल गरेका छन् ।

शनिबार राति भने इंग्ल्यान्डले एमबाप्पेलाई रोक्न सफल भयो । तर, फ्रान्सका आलिभर जिरौड र औरेलियन चाउमेनीले गरेको गोलमा फ्रान्स २–१ ले विजयी भयो ।

एमबाप्पेसँगै एन्टोइन ग्रिजमनको प्रदर्शनले फ्रान्सलाई अझ मजबुत बनाएको छ । अझ भनौँ, ग्रिजमन फ्रान्सको टिममा ‘आर्किटेक्ट’ हुन् । फ्रान्सका फुटबल विज्ञ जोनाथन जोनसन फ्रान्सको टिममा एमबाप्पेभन्दा ग्रिजमन अझै प्रभावकारी रहेको बताउँछन् ।

जोनसनले स्काई स्पोर्ट्स न्यूजलाई भने, “ग्रिजमन एकदमै महत्वपूर्ण खेलाडी हुन् । रुसमा पनि उनी त्यति नै प्रभावकारी थिए । डेसच्याम्प्स सधैँ एन्टोइनप्रति धेरै वफादार छन् । बार्सिलोना र एट्लेटिको मड्रिडमा उनको लय सोचेजस्तो राम्रो हुन नसके पनि कतारमा उनी उत्कृष्ट देखिएका छन् । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न लायक छन् । तर, त्यसका लागि फ्रान्स फाइनलमा पुग्नु आवश्यक छ ।”

एमबाप्पेसँगै अग्रपंक्तिमा ३६ वर्षे जिरौड यसवर्ष प्रभावकारी बनेका छन् । उनले पनि कतार विश्वकपमा चार गोल गरिसकेका छन् ।

मध्य र अग्रपंक्तिमा फ्रान्स जति सशक्त छ । रक्षापंक्तिले त्यसअनुसारको प्रदर्शन गर्न सकेको छैन । प्रतियोगितामा फ्रान्सले प्रत्येक खेलमा गरी पाँच गोल खाएको छ । रक्षापंक्तिमा सुधार गर्न सक्यो भने फ्रान्सले उपाधि उचाल्ने सम्भावना पनि प्रबल छ । त्यसो भएमा १९३४ र १९३८ मा इटाली तथा १९५८ र १९६२ मा ब्राजिलपछि फ्रान्स लगातार उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

मोरक्कोको चामत्कारिक प्रदर्शनले निरन्तरता पाउला ? 

फ्रान्सविरुद्धको नतिजा जस्तो आए पनि कतारमा मोरक्कोको प्रदर्शन सदा सम्झनलायक बनिसकेको छ । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ । त्यसकारण मोरक्कोलाई आज गुमाउनुपर्ने केही छैन । उनीहरूले यसअघि नै इतिहास रचिसकेका छन् ।

Coach morocco1671017258.jpg

शनिबार क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध खेल्दा प्रशिक्षक वालिद रग्रागुईले मोरक्काको प्रशिक्षण सम्हालेको १०० दिनमात्र भएको थियो । यसअघि अफ्रिकाका तीन राष्ट्रले मात्र विश्वकपको क्वार्टरफाईनलमा स्थान बनाउन सफल भएका छन् ।

मोरक्कोको सफलताको एउटा रहस्य खेलाडीको परिवारलाई ‘क्याम्प’मा समावेश गर्नु पनि हो । प्रत्येक खेलपछि तुरुन्तै भीडमा आफ्नी आमासँग खुशी मनाउने अचराफ हाकिमीको अनुष्ठानले यो कस्तो चतुर चाल थियो भनेर चित्रण गरेको छ ।

“मलाई लाग्छ कि सबै आमाहरू ल्याउने प्रशिक्षकको राम्रो विचार थियो । किनकी आमाहरू हाम्रो संस्कृतिको हिस्सा हुन्,” मोरक्को र फुलहमका पूर्वरक्षक अब्देस ओउडौले स्काई स्पोर्ट्स न्यूजलाई भने, “आमाहरूले उनीहरूलाई शक्ति र ऊर्जा प्रदान गर्छन् ।”

FilnRcuXgAElnrL1671017264.jpg

मोरक्कोले अब विश्वविजेता फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मोरक्कोले यसअघि नै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, पूर्वविजेता स्पेन, गत संस्करण तेस्रो हुन सफल बेल्जियमलाई पराजित गरिसकेको छ ।

मोरक्कोलाई ‘जायन्ट किलर’ भन्न हतार हुनसक्छ । तर, फ्रान्सलाई हराएमा पक्कै पनि मोरक्कोलाई ‘जायन्ट किलर’ भन्दा कुनै फरक पर्दैन र मोरक्को उपाधिको पनि हकदार बन्नेछ ।

मोरक्कोमा पनि केही स्टार खेलाडी छन् । पीएसजीका आच्रफ हाकिमी, चेल्सीका हाकिमी जियाच र बायर्न म्युनिखका नौसिर मज्राउ मोरक्कोका स्टार खेलाडी हुन् ।

अन्य खेलाडी भने कतारमा स्टार बनिसकेका छन् । सोफ्यान अम्राबत कतार विश्वकपको सबैभन्दा प्रभावशाली ‘होल्डिङ मिडफिल्डर’ हुन् । त्यस्तै जेदिने औनाहीले मिडफिल्डमा आफ्नो जादु देखाइसकेका छन् । अन्तिम–१६ मा स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा गोलकिपर यासिन बोनोले आफूलाई प्रमाणित गरिसकेका छन् । पोर्चुगलविरुद्ध युसेफ इन–नेस्रीले पनि आफूलाई प्रमाणित गरिसकेका छन् ।

मोरक्कोको पछाडि अहिले पूरै अफ्रिका महादेश र अरब राष्ट्रको पनि साथ छ । मोरक्कोलाई खेलाडीको चोटले चिन्तित बनाएको छ । मोरक्कोको सफलता पछाडि रक्षापंक्तिले गरेको प्रदर्शन पनि एक हो ।

मोरक्कोलाई यस विश्वकपमा कुनै पनि विपक्षी टिमले गोल गर्न सकेको छैन । मोरक्कोले एक गोल खाएको छ । त्यो गोल आत्मघाती थियो । जारी प्रतियोगितामा मोरक्को अपराजित छ ।

मोरक्कोका रक्षक नाइफ अगुएर्ड, रोमैन सैस घाइते छन् । फरवार्ड वालिद चेडिरा रातो कार्डका कारण निलम्बनमा छन् । जसले मोरक्कोलाई संकटमा पार्न पनि सक्छ ।  एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार