विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र कांग्रेस निकट नेपाल किसान महासंघले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद नभएको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
दुई संगठनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले सरकरको ध्यानाकर्षण गराउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय विराटनगरमा ज्ञापनपत्र पनि बुझाएका छन् ।
सरकारले मूल्य तोकेको लामो समय बितिसक्दा पनि किसानको धान खरिद गर्ने काम सुरु हुन नसकेको र धेरैजसो किसानले कम मूल्यमा नै बिक्री गरिसकेको अखिल नेपाल किसान महासंघका मोरङ जिल्ला अध्यक्ष देवेन्द्र पौडेलले बताए । उनले भने, सरकारले मूल्य तोक्ने तर किसानको धान खरिद गर्न चासो नदिने प्रवृत्तिका कारण समस्या भएको छ ।
यस्तै नेपाल किसान महासंघका मोरङ सभापति केदारबहादुर थापाले मूल्य तोक्ने तर धान खरिद नगर्ने काम सरकारको असक्षमताको पराकाष्ठा भएको बताए ।
संघीय मन्त्रिपरिषद्ले कात्तिक १६ गते धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल रु २९६७ र मध्यम धानको मूल्य ३१२८ तोकेको थियो । अघिल्लो वर्षको तुलनामा मोटा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरिएको थियो ।