Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा, उपाधि जित्ने मेस्सीको सपना जीवितै



विराटनगर : कतार विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

खेलको ३२ औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजलाई क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका स्टार लियोनेल मेस्सी गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए।

यस्तै खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २(० को अग्रता दिलाए। अघिल्लो खेलमा क्रोएसियाका गोलरक्षक लिभाकोभिच उत्कृष्ट सावित भएका थिए । तर अर्जेन्टिनाविरुद्ध क्रोएसियाली रक्षक कमजोर साबित भए।

मेस्सीको पासमा ६९औं मिनेटमा अल्भारेज दोस्रो व्यक्तिगत गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले आफ्नो पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमध्ये एउटा खेलमा मात्र हार बेहोरेको छ । २८ खेलमा जित निकालेको अर्जेन्टिनाले १२ खेलमा बराबरी खेलेको छ । उसले विश्वकपको समूह चरणको खेलमा साउदी अरेबीयसँग २–१ ले हारेको थियो ।

क्रोएसियासँगको खेलमा एक गोल गरेका लियोनल मेस्सी विश्वकपमा पाँचौं व्यक्तिगत गोल गरेका छन् । पाँच गोल गरेका मेस्सी गोल्डेन बुटका प्रमुख दाबेदार बनेका छन् । उता फ्रान्सका केलियन एमबाप्पेले पनि प्रतियोगितमा पाँच गोल गरे पनि दुई असिस्ट मात्र गरेका छन् । मेस्सीको तीन असिस्ट छ । फाइनलमा मेस्सीले अर्को कीर्तिमान तोड्ने तयारीमा छन् ।

अर्जेन्टिनाले बुधबार फ्रान्स र मोरक्कोबीचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । क्रोएसियाको तेस्रो स्थानका लागि भोलिको सेमिफाइनलको हार्नेसँग खेल्नेछ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार